काठमाडौँ । रसुवा बाढीको सन्दर्भमा अखिल नेपाल महिला सङ्घले उद्धार, राहत र मानवीय सहयोगमा जुट्न अपिल गरेको छ ।
अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०८३ भदौ १० गते प्रेसवक्तव्य जारी गर्दै महिला सङ्घले सो अपिल गरेको हो ।
वक्तव्यमा विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।
विपत्तिको अहिलेको समयमा सरकार र आम नागरिकले हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्न पनि महिला सङ्घको आग्रह छ ।
जलवायु परिवर्तनबाट उत्पन्न समस्यालाई समाधान गर्न राज्य र समाजले दीर्घकालीन प्रयास गर्नुपर्नेमा पनि वक्तव्यमा जोड दिइएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“आज २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण स्याफ्रुबेसी, टिमुरेलगायतका तल्लो तटीय क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिले हामीलाई अत्यन्त दु:खी र मर्माहत बनाएको छ । यस दुखद प्राकृतिक विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
प्राकृतिक विपत्तिको यो कठिन घडीमा पीडित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, उपचार, राहत र पुनस्र्थापनालाई सर्वोच्च प्राथमिकतामा राख्दै राज्यका सम्पूर्ण संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकारसँग आग्रह गर्दछौँ, साथै विपत्तिमा परेका नागरिकलाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सामाजिक सङ्घसंस्था र सहयोगी मनमा हार्दिक अपिल गर्दछौँ ।
विपत्तिको समयमा पीडितको पीडामा मल्हम लगाउनु नै हाम्रो पहिलो कर्तव्य हो । त्यसैले जात, वर्ग, क्षेत्र वा राजनीतिक आस्थाभन्दा माथि उठेर हातमा हात, काँधमा काँध मिलाउँदै उद्धार, राहत र मानवीय सेवामा जुट्न सबैमा आग्रह गर्दछौँ ।
यस संवेदनशील अवस्थामा अपुष्ट सूचना, अफवाह तथा गलत हल्लाको पछि नलागी सम्बन्धित सरकारी निकाय तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउनसमेत सबैमा अनुरोध गर्दछौँ । बिपदप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयम्सेवक तथा सम्पूर्ण सहयोगी हातप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिको बढ्दो जोखिमले हाम्रो वातावरणीय असन्तुलन र जलवायु सङ्कटप्रति पनि गम्भीर बन्नुपर्ने आवश्यकता देखाएको छ । प्रकृति र पर्यावरण संरक्षणलाई विकासको अभिन्न आधार बनाउँदै बिपद न्युनीकरण, पूर्वतयारी तथा सुरक्षित र दिगो विकासका लागि राज्य र समाज दुवैले दीर्घकालीन पहल गर्न आवश्यक छ।
यस दु:खको घडीमा हामी सबै एकजुट बनौँ । पीडितको जीवन बचाऔँ, मानवीय सेवामा जुटौँ र आशाको हात फैलाऔँ ।”

