काठमाडौँ । तिब्बततर्फको हिमताल पूरै खुलिनसकेकाले रसुवा जिल्लास्थित भोटेकोशी बाढीको जोखिम अझै कायम रहेको पाइएको छ ।
बाढी पूर्वानुमान महाशाखाका रसुवा बाढीको जोखिम अझै कायमै रहेको जनाएको हो ।
चीनबाट सूचना प्राप्त भएको भन्दै नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीको जोखिम कायमै रहेको महाशाखाले जानकारी गराएको छ ।
२०८३ भदौ १० गते बुधबार दिउँसो सूचना जारी गर्दै महाशाले अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
बुधबार बिहान करिब ९ बजे चीनबाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा क्षति पुर्याएको छ । मानवीय र भौतिक क्षतिको विवरण प्राप्त हुँदैछ ।
चीनतर्फ पहिरो
नेपालमा भीषण बाढी आउनुअघि चीनमा निकै ठुलो पहिरो गएको खुलासा भएको छ ।
पिपुल्स डेली चाइनाका अनुसार नेपाल–चीन जोड्ने प्रमुख स्थल नाका केरुङ बन्दरगाहनजिकै बुधबार पहिरो जाँदा केही मान्छे बेपत्ता भएका छन् ।
चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा पर्ने केरुङ बन्दरगाह आसपास पहिरो गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पिपुल्स डेलीले लेखेको छ ।
घटनापछि चीनतर्फबाट केरुङ नाका आउने सडक अवरुद्ध भएको छ भने सञ्चार सेवा र विद्युत् आपूर्ति समेत प्रभावित भएको छ ।
सिगात्से सहरअन्तर्गत जिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलन भइरहेको पिपुल्स डेलीले जनाएको छ ।

