काठमाडौँ । चीनले तिब्बतमा हिमपहिरो जाँदा रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी आएको जानकारी गराएको छ ।
राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।
प्राधिकरणकी उपसचिव एवम् प्रवक्ता शान्ति महतले यो जानकारी चीनबाट अनौपचारिक रूपमा आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताएकी छिन् ।
उनले त्यो क्षेत्रमा रहेका प्राविधिकको प्रारम्भिक अध्ययनले तिब्बतको हिमपहिरोलाई नै बाढीको मुख्य कारण देखाएको र यसमा थप अनुसन्धान जारी रहेको स्पष्ट पारिन् ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले पनि प्रारम्भिक अध्ययनअनुसार तिब्बतमा गएको हिमपहिरोकै कारण बाढी आएको देखिएकाले यसको विस्तृत पुष्टि गर्ने काम भइरहेको जानकारी दिए ।
चीनमा रहेका विभागका कर्मचारीमार्फत पनि विस्तृत विवरण सङ्कलन भइरहेको उनले दाबी छ ।
उनले भने– ‘हामी केही साथीहरू चीनमा नै हुनुहुन्छ । खासमा भएको के हो त्यो बुझ्ने प्रयास भइरहेको छ ।’
कायस्थका अनुसार चीनमा रहेका टोलीसँगै अन्य कूटनीतिक तथा प्राविधिक माध्यमबाट पनि बाढीको वास्तविक कारण पुष्टि गर्ने काम भइरहेको छ ।

