काठमाडौँ । रसुवा बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालित र निर्माणाधीन गरी १५ ओटा जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले दिएको प्रारम्भिक विवरणअनुसार बाढीबाट ७५३ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् ।
क्षति पुगेका आयोजनामध्ये तीन सय ५९ मेगावाट क्षमताका १० ओटा सञ्चालनमा रहेका आयोजना छन् भने तीन सय ९४ मेगावाट क्षमताका ५ ओटा निर्माणाधीन आयोजना रहेका छन् ।
रसुवा जिल्लाका प्रमुख जलविद्युत् आयोजना बाढीको चपेटामा परेका छन् । विवरणअनुसार सञ्चालनमा रहेका पाँचोटा आयोजना दुई सय ३६ मेगावाट र निर्माणाधीन तीनोटा आयोजना कुल तीन सय ४२ मेगावाटमा क्षति पुगेको छ ।
सञ्चालनमा रहेका आयोजनामा रसुवागढी (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), चिलिमे (२२ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र मैलुङ खोला (५ मेगावाट) छन् ।
निर्माणाधीन आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवा–भोटेकोसी (१२० मेगावाट) र माथिल्लो मेलुङ–ए (६.४२ मेगावाट) रहेको इप्पानले जनाएको छ ।
नुवाकोट जिल्लामा पनि बाढीले सातोटा आयोजनामा असर पुर्याएको छ । जिल्लामा सञ्चालनमा रहेका पाँचोटा आयोजना (१२३ मेगावाट) र निर्माणाधीन दुई आयोजना (५२.६ मेगावाट) रहेका छन् । सञ्चालनमा रहेका आयोजनामा माथिल्लो त्रिशूली–३ए (६० मेगावाट), सोलार आयोजना (२५ मेगावाट), त्रिशूली जलविद्युत् (२४ मेगावाट) र देवीघाट जलविद्युत् (१४.१ मेगावाट) छन् ।
त्यस्तै निर्माणाधीन आयोजनामा माथिल्लो त्रिशूली–३बी (३७ मेगावाट) र मिडिल त्रिशूली गङ्गा (१५.६ मेगावाट) रहेका छन् ।
बाढीका कारण यी आयोजनाको भौतिक संरचनामा क्षति पुग्नुका साथै विद्युत् उत्पादन र प्रसारणमा समेत अवरोध सिर्जना भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य भइरहेको र आयोजना पुन: सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।
