काठमाडौँ । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोन र डेटा सेवा नि:शुल्क गरेको छ ।
अर्थमन्त्रालयका अनुसार उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा नि:शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नि:शुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस नि:शुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए ।
टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ ।
नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुइटा र नुवाकोटमा पाँचोटा गरी सातोटा टावरमा क्षति पुगेको छ । टावर तथा सेवा पूर्वाधारको मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।

