काठमाडौं । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९को परीक्षण सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरु भएको हो ।
अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ। अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताउनुभयो ।
गत आर्थिक वर्षमा अस्पतालले १९ हजार ६ सय २५ जना महिलालाई बहिरङ्ग सेवा दिएको छ । त्यस्तै २२ हजार ४ सय ६१ जनाको सुरक्षित सुत्केरी गराउन अस्पताल सफल भएको छ । यसबाहेक ८ हजार ५ सय २८ जनाले शलयक्रियाबाट बच्चा जन्माएको अस्पतालले जनाएको छ ।
अस्पतालमा एनआईसीयू सेवा, क्यान्सर सम्बन्धी परीक्षण, अल्ट्रासाउन्ड सेवा, सिटीस्क्यान सेवा र मेमोग्राम लगायतका सेवा उपलब्ध रहेको छ ।

