काठमाडौं, साउन ३० । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार मन्जिला अनिलद्वारा लिखित महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित आधिकारिक महाकाव्य ‘बुवाहजुर’ को लोकार्पण गरेको छ।
भागवत वाचक अजितप्रसाद गौतमको प्रमुख आतिथ्य तथा अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवं केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र के.सी.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि गौतम, अध्यक्ष के.सी., विशिष्ट अतिथिहरू साहित्यकार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिभुवन विश्वविद्यालय नेपाली विभागका पूर्वप्रमुख प्राडा. खगेन्द्रप्रसाद लुइटेल, अनेसास केन्द्रीय समितिका पूर्वअध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार प्रतीक ढकाल, प्राडा. बीओटी सल्लाहकार तीर्थ अधिकारी तथा पूर्वसूचना आयुक्त कमला ओलीलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।
कार्यक्रममा अनेसास बीओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, केन्द्रीय समितिका निवर्तमान सदस्य तारा उप्रेतीलगायतको उपस्थिति थियो।
यसअघि प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। अतुल स्मृति गुरुकुलका बालबालिकाले मंगलाचरण प्रस्तुत गरेका थिए।

