धनबहादुर मगर
काठमाडौँ, साउन २३ ।पर्यावरणीय कृषिको रूपान्तरण अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय रहँदै आएको खाद्यका लागि कृषि अभियानले नेपालको पर्यावरणीय कृषिको रूपरेखाबारे छलफल गरेको छ।
खाद्य तथा कृषि विकासका लागि निरन्तर बहस र पैरवी गर्दै आएको अभियानले नेपालको भावी कृषि विकासको मार्गचित्र (रोडम्याप) निर्माणका विषयमा गहन छलफल गरेको हो।
अन्तरक्रियात्मक कार्यक्रममा नेपालजस्तो भौगोलिक विविधता भएको देशमा पर्यावरणीय कृषिको महत्त्व आगामी दिनमा अझ बढ्दै जाने धारणा सहभागीहरूले राखेका थिए।
सन् २०१० देखि निरन्तर बहस र पैरवी गर्दै आएको अभियानले सन् २०१० देखि २०२५ सम्मको आफ्नो प्रगतिको समीक्षा गर्दै यस अवधिमा नीतिगत तहमा उल्लेख्य काम भएको जनाएको छ। नीतिगत रूपमा अभियानले उल्लेख्य उपलब्धि हासिल गरेको निष्कर्षसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।
सरकार, किसान र अभियानकर्मी एकसाथ अघि बढ्नुपर्नेमा जोड दिँदै विषरहित तथा पर्यावरणमैत्री कृषिको मार्गचित्रलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने सहभागीहरूले बताएका छन्।
आम उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर कृषि प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै सहभागीहरूले नीतिगत तहमा अभियानले सफलता हासिल गरे पनि त्यसलाई किसानसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्ने बताएका थिए। कृषिलाई किसानको वास्तविक जीवन र आवश्यकतासँग जोड्न थप मेहनत गर्दै अभियानलाई व्यापक आन्दोलनका रूपमा विस्तार गर्नुपर्ने धारणा अभियानकर्मीहरूले राखेका थिए।
स्थापनाकालदेखि नै विभिन्न चरणमा दस्तावेजीकरण गर्दै सरकारलाई समेत सहयोग पुर्याउँदै आएको खाद्यका लागि कृषि अभियानले नेपालको दिगो पर्यावरणीय कृषिको मार्गचित्रका विषयमा विगतदेखि नै आफ्नो बहसलाई सशक्त रूपमा अघि बढाउँदै आएको जनाएको छ।
अन्तरक्रियात्मक कार्यक्रममा डा. कृष्णप्रसाद पौडेल, टीका भट्टराई, सोमत घिमिरे, दीपेश नेपाल, मदन पौडेल, पञ्चकाजी श्रेष्ठ, सुरेश तामाङ, प्रयास अधिकारी, सरोज खतिवडालगायत अभियानकर्मीहरूले भावी पर्यावरणीय कृषिको मार्गचित्रलाई अघि बढाउने विषयमा छलफल गरेका थिए।
तीन–तीन वर्षको कार्यावधिमा नयाँ कार्यसमिति गठन गर्ने प्रावधानअनुसार खाद्यका लागि कृषि अभियानले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ कार्यसमितिको संयोजकमा उद्धव अधिकारी चयन भएका छन्। सदस्यहरूमा डा. कृष्णप्रसाद पौडेल, दीपेश नेपाल, निमा हेल्मो, रीता गुरुङ र प्रयास अधिकारी रहेका छन्। संस्थागत सदस्यका रूपमा राष्ट्रिय भूमि अधिकार मञ्च, राष्ट्रिय कृषक समूह महासंघ र नेपाल कृषि पत्रकार संघ (अनाज) चयन भएका छन्।
यससँगै नौ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो। फोरेष्ट एक्सन सचिवालय सदस्यका रूपमा रहेको छ।
कार्यक्रमको सहजीकरण फोरेष्ट एक्सन नेपालका कवि भट्टराई र शारदा खतिवडाले गरेका थिए।

