वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यास (बर्थ टुरिजम) रोक्न नयाँ कार्यकारी आदेश जारी गरेका छन्।
आदेशअनुसार पर्यटक वा अस्थायी रूपमा अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता दिलाउने उद्देश्यका गतिविधिमा प्रतिबन्ध लगाइनेछ। साथै, केही विशेष अवस्थामा अमेरिकामा जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
यसअघि ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई अमेरिकी सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै रोक लगाएको थियो। नयाँ आदेशपछि पनि यसको संवैधानिक वैधतामाथि कानुनी बहस जारी रहने अपेक्षा गरिएको छ।
कानुनविद्हरूका अनुसार राष्ट्रपति अमेरिका प्रवेशसम्बन्धी नियम कडा बनाउन सक्ने भए पनि अमेरिकामै जन्मिएका शिशुलाई नागरिकता नदिने विषय संविधानसँग बाझिन सक्ने सम्भावना छ।
