खिमराज चालिसे
चण्डीगढ, साउन २१ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य खिमराज चालिसे, क्षेत्रीय सदस्य जुना भण्डारी चालिसे समेतको सक्रियतामा सेक्टर २८ चंडीगढमा विषेश शिविर आयोजित गरी नेपाल आउन नसक्ने अशक्त, अपाङ्गता भएका तथा वृद्ध नेपाली नागरिकलाई लक्षित गर्दै भारतमा सामाजिक सुरक्षा तथा पेन्सन योजनाको ‘केवाईसी’ (KYC) नवीकरण सेवा उपलब्ध गराएका छन्।
सो अवसरमा प्युठान जिल्लाको गौमुखी गाउँपालिकाका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । यसै क्रममा बिहीबार भारतको चण्डीगढस्थित सेक्टर–२८ मा विशेष शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ६२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन् ।
विशेष गरी प्युठान, गुल्मी, दाङ, कपिलवस्तु र रुपन्देही जिल्लाका स्थायी बासिन्दा भई हाल भारतका पञ्जाब, दिल्ली, हिमाचल प्रदेशलगायत विभिन्न राज्य तथा सहरमा रोजगारी वा बसोबास गरिरहेका नेपाली नागरिकका कागजात तथा विवरण अनलाइन प्रणालीमार्फत अद्यावधिक (नवीकरण) गरिएको थियो ।
भारतमै सामाजिक सुरक्षा भत्ता तथा पेन्सन योजना नवीकरण गरिदिँदा भत्ता रोकिने समस्या टरेको भन्दै सेवाग्राहीहरूले आभार व्यक्त गरेका छन् । उनीहरूले विदेशमै पुगेर सेवा प्रदान गर्नु स्थानीय सरकारको नागरिकमैत्री र जिम्मेवार कार्यको उदाहरण भएको प्रतिक्रिया दिएका छन् ।
स्मरण रहोस्, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राष्ट्रिय जनमोर्चाको भारत प्रवासमा रहेको भातृ संगठन हो ।

