काठमाडौँ । तीन सङ्गठनले लघुवित्तपीडित किसानका समस्या समाधान गर्न माग गरेको छ ।
२०८३ साउन २१ गते बिहीबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो माग गरेका हुन् ।
सामन्तवादी तथा साम्राज्यवादी शोषणको फलस्वरूप भूमिहीनता र बेरोजगारी समस्या र त्यसैको फलस्वरूप मिटरब्याज, लघुवित्त र सहकारी ठगीको दुष्चक्रमा नेपाली किसान परेको वक्तव्यमा उल्लेख छ ।
किसानका समस्या समाधान गर्न वर्तमान सरकारले आलटाले नीति अपनाएको आरोप लगाउँदै उनीहरूले अहिले चलिरहेको लघुवित्तपीडित किसानको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षर रहेको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“नेपालको कृषि र वास्तविक किसानहरू क्रान्तिकारी भूमिसुधार गरेर यसको स्वामित्वको किसानमैत्री व्यवस्थापनको समस्या हल नगरिँदा सामन्तवादी र साम्राज्यवादी शोषणको मारमा परेर उनीहरू भूमिहीनता, बेरोजगारीका आधारभूत समस्याका साथै मिटरब्याज, लघुवित्त र सहकारी ठगीजस्ता ऋणको दुष्चक्रमा पर्दै आएका छन् । राज्यले किसानका वास्तविक समस्या सुन्ने र हल गर्ने नगरी हरेकपटक टालटुले आश्वासन बाँडेर अल्मल्याउने काम गर्दै आएको छ । त्यसैको परिणति मिटरब्याज ठगी, लघुवित्त ठगी र सहकारी ठगीका समस्या बारम्बार किसानमाथि बल्झिने र किसानहरू आन्दोलित हुने गर्दै आएका छन् तर तिनका समस्या हल गरेका छैनन् ।
अहिले चलिरहेको लघुवित्त शोषण विरोधी आन्दोलन यसैको एउटा उदाहरण हो । अब यसमा पनि विभाजन र फुट ल्याएर आन्दोलनलाई कमजोर तुल्याउने र आलटाल गरेर समस्यलाई समाधानहीन राख्ने प्रवृत्ति नै देखिएको छ । अत: देश र किसानका समस्याप्रति संवेदनशील हामी तीन किसान सङ्गठनहरू कृषि र किसानका समस्याप्रति राज्य जिम्मेवार तरिकाले प्रस्तुत होस्† लघुवित्तबाट शोषणको मारमा परेका पीडित किसानको जायज माग पूरा गरियोस्† किसानले बारम्बार बिचल्लीमा पर्ने स्थितिको अन्त्य गरियोस् र किसानलाई ठगीको मारबाट सदाका लागि मुक्त गरियोस् भन्ने जोडदार माग गर्दै लघुवित्तपीडित किसानको माग र आन्दोलनप्रति हामी ऐक्यबद्धता जनाउँछौँ ।”

