बैतडी, साउन १९ । बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत करार कर्मचारीहरूले आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभर कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत सोमबार दिउँसो २ बजे शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गरिएको हो।
शिक्षालयका सूचना अधिकारी महेशराज भट्टका अनुसार सीटीईभीटीको केन्द्रीय आन्दोलन कार्यक्रमअनुसार तालाबन्दी गरिएको हो। शिक्षालयमा गठित संघर्ष समितिका संयोजकसमेत रहेका भट्टले आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गरिएको जानकारी दिए।
भीमदत्त बहुप्राविधिक शिक्षालयमा हाल २० जनाभन्दा बढी करार कर्मचारी कार्यरत छन्। उनीहरूले सामाजिक सुरक्षा, सेवाको सुनिश्चितता तथा रोजगारीको स्थायित्वलगायतका माग पूरा गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
आन्दोलनका कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन हुने जनाइएको छ।