काठमाडौँ । काठमाडौँको गोकर्ण क्षेत्रमा लामो समयदेखि रोकिएको करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ (राजु) पाण्डे र नेपाली सेनाका एक अधिकृतबीच भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
सोमबार बौद्ध माकलबारीदेखि गोकर्णेश्वर मन्दिरसम्मको सडक विस्तारका क्रममा नेपाल ट्रस्टअन्तर्गत रहेको गोकर्ण फरेस्ट रिसोर्ट क्षेत्रको पर्खाल हटाउने विषयमा सांसद पाण्डे र सेनाका प्रतिनिधिबीच विवाद भएको हो।
भाइरल भिडियोमा सेनाका अधिकृतले उक्त क्षेत्रमा सैनिक ब्यारेक रहेको उल्लेख गर्दै आवश्यक आधिकारिक अनुमति नदेखाई पर्खाल भत्काउने कार्य अघि नबढाउन आग्रह गरेको देखिन्छ । जवाफमा सांसद पाण्डेले सडक विस्तार कानुनअनुसार भइरहेको दाबी गर्दै काम नरोक्न निर्देशन दिएका सुनिन्छन् ।
स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको उपस्थितिमा डोजरमार्फत करिब ३० मिटर पर्खाल हटाएर सडक विस्तार गरिएको थियो । स्थानीयका अनुसार उक्त सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेकाले पर्खाल हटेपछि बागमती करिडोर दुवैतर्फबाट जोडिएको छ । उनीहरूले सडक विस्तारका क्रममा रुख नकटिएको पनि बताएका छन्।
सेनाका प्रतिनिधिले भने उक्त क्षेत्रको सुरक्षा जिम्मेवारी तथा त्यहाँ रहेका वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै संरचना हटाउनुअघि औपचारिक अनुमति आवश्यक पर्ने धारणा राखेका थिए । भिडियोमा अधिकृतले सुरक्षा र वन्यजन्तुसम्बन्धी चिन्ता पनि व्यक्त गरेका छन् ।
यस घटनापछि नेपाली सेनाले सैनिक अधिकृतप्रति भएको व्यवहारप्रति असन्तुष्टि जनाएको बताइएको छ । साथै, घटनाबारे प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग सिंहदरबारमा भेट गरी आफ्नो चासो व्यक्त गरेको दाबी गरिएको छ । यद्यपि, उक्त भेट नियमित कार्यसूचीअन्तर्गत भएको पनि बताइएको छ ।
यस विषयमा नेपाली सेना, प्रधानमन्त्रीको सचिवालय वा सांसद पाण्डेको तर्फबाट औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।