लाइनमा बसेका उपभोक्ता फर्काइँदा चिनजानका व्यक्तिलाई ग्यास दिएको भन्दै उपभोक्ताको गुनासो
Advertisement
काठमाडौं, साउन १९ । बजारमा खाना पकाउने एलपी ग्यासको अभावबीच नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) को टेकुस्थित मुख्य वितरण केन्द्रमा आइतबार ग्यास वितरणका क्रममा पहुँच भएका व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। घण्टौँ लाइनमा बसेका उपभोक्तालाई समय सकिएको भन्दै फर्काइएको अवस्थामा केही व्यक्तिलाई भने कर्मचारीको सहजीकरणमा सिधै ग्यास उपलब्ध गराइएको दृश्य देखिएको हो।
सरकारले बजारमा देखिएको ग्यास अभावलाई सहज बनाउन उपभोक्तालाई टेकुस्थित वितरण केन्द्रबाट प्रत्यक्ष ग्यास उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसअनुसार बिहानदेखि नै सयौँ उपभोक्ता खाली सिलिन्डर बोकेर लाइनमा बसेका थिए।
आइतबार अपराह्न करिब ४ बजे वितरण केन्द्र पुग्दा गेटबाहिर पुगेका उपभोक्तालाई “आजका लागि वितरण बन्द भएको” भन्दै सुरक्षा कर्मचारीले प्रवेश गर्न दिएनन्। पाँच बजेसम्म ग्यास वितरण हुने सूचना पाएर विभिन्न स्थानबाट पुगेका सेवाग्राही भने खाली सिलिन्डर बोकेरै फर्किन बाध्य भए।
तर सोही समयमा केही व्यक्तिलाई लाइन नबसी सिधै वितरण केन्द्रभित्र प्रवेश गराई ग्यास उपलब्ध गराइएको देखिएको थियो। प्रत्यक्षदर्शीका अनुसार उनीहरू केही मिनेटमै ग्यास लिएर बाहिरिएका थिए, जबकि लामो समयदेखि पालो कुरिरहेका उपभोक्ताले भने सेवा पाएनन्।
यस विषयमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनका वितरण केन्द्रका प्रबन्धकसँग जिज्ञासा राख्दा उनले सुरुमा चार बजेपछि ग्यास वितरण बन्द गरिएको बताए। पछि वितरण भइरहेको दृश्यबारे प्रश्न गरेपछि भने फोन गरेर आएका चिनजानका व्यक्तिलाई ग्यास उपलब्ध गराइएको स्वीकार गर्दै सबैलाई त्यसरी सेवा दिन नसकिने प्रतिक्रिया दिए।
ग्यास लिन पुगेका उपभोक्ताले वितरण प्रक्रियामा समान व्यवहार नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार नाम दर्ता गरेर फोन गर्ने आश्वासन दिइए पनि सम्पर्क नगरिएको, कार्यालयबाट हतारहतार पुग्दा पनि समय सकिएको भन्दै फर्काइएको तथा केही व्यक्तिलाई भने बिना लाइन ग्यास उपलब्ध गराइएको थियो।
रामकोटबाट ग्यास लिन पुगेका एक उपभोक्ताले दोस्रो पटक वितरण केन्द्र पुग्दा पनि ग्यास नपाएको बताए। अर्का एक सेवाग्राहीले पाँच बजेसम्म वितरण हुने जानकारीका आधारमा पुगे पनि चार बजेपछि वितरण बन्द भएको जानकारी दिइएको गुनासो गरे। परीक्षाको तयारी गरिरहेका अर्का उपभोक्ताले घरमा ग्यास सकिँदा दैनिक जीवन नै प्रभावित भएको बताए।
वितरण केन्द्रको गेटमा खटिएका सुरक्षा गार्डले भने भित्रबाट आएको निर्देशनअनुसार केही व्यक्तिलाई मात्र प्रवेश गराइएको र “अत्यावश्यक” आवश्यकता भएका व्यक्तिलाई सेवा दिइएको प्रतिक्रिया दिए।
रिपोर्टिङका क्रममा वितरण केन्द्रभित्र ग्यास सिलिन्डर मौज्दात देखिए पनि सर्वसाधारण उपभोक्ताले सेवा नपाएको दृश्य देखिएको थियो। यसले सरकारी वितरण प्रणालीको पारदर्शिता र समान पहुँचबारे प्रश्न उठाएको छ।
केही दिनयता बजारमा एलपी ग्यासको अभाव बढेपछि सरकारले स्थानीय डिलरमार्फत हुने वितरणलाई सीमित गर्दै तोकिएका केन्द्रबाट प्रत्यक्ष वितरणको व्यवस्था गरेको छ। तर सरकारी वितरण केन्द्रमै वितरण प्रक्रियामाथि प्रश्न उठेपछि त्यसको प्रभावकारिता र पारदर्शितामाथि समेत चासो बढेको छ।
ग्यास अभावको गुनासोपछि आपूर्ति सहज बनाउन निगमको निर्देशन
बजारमा एलपी ग्यासको अभाव भएको गुनासो बढ्न थालेपछि नेपाल आयल निगमले आपूर्ति सहज बनाउन ग्यास उद्योगी तथा विक्रेताहरूलाई आवश्यक निर्देशन दिएको छ।
निगमले मंगलबार विज्ञप्ति जारी गर्दै घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर एलपी ग्यास बिक्री गर्न आग्रह गरेको हो। साथै, ग्यास बिक्री गर्दा खरिदकर्ताको विवरण अभिलेख राखेर मात्र सिलिन्डर वितरण गर्न विक्रेताहरूलाई निर्देशन दिइएको छ।
निगमका अनुसार बजारमा एलपी ग्यासको आपूर्ति नियमित रहेकाले कृत्रिम अभाव सिर्जना हुने अवस्था नरहेको जनाएको छ। उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद वा भण्डारण नगर्न तथा प्यानिक बाइङ नगर्न पनि आग्रह गरिएको छ।
ग्यास उपलब्ध नभएको वा वितरणमा समस्या देखिएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७९१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।
निगमले ग्यास उद्योगी, बिक्रेता र उपभोक्ताबीच समन्वय कायम गरी वितरण प्रणालीलाई व्यवस्थित बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ।