काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान, लोकतन्त्र र सङ्घीय व्यवस्थाको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभएको छ।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपाल कुनै पनि देशको अधीनमा नबस्ने र कसैविरुद्ध पनि नउभिने भन्दै सबै मित्रराष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो। देशलाई विदेशीको क्रीडाभूमि बन्न नदिन सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो।
उहाँले शहीदको बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न आग्रह गर्दै गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारीपीडित र सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। साथै, समाजमा सहिष्णुता, मानवीय संवेदना, इतिहासप्रतिको सम्मान र अग्रजहरूको योगदानको कदर गर्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।