काठमाडौं/सिरहा, १४ साउन । सुनसरीको देवानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका अन्य जिल्लामा फैलिँदै जाँदा सिरहामा बिहीबार हिंसात्मक झडप चर्किएको छ। झडपका क्रममा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी, तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रशासनले सिरहाको गोलबजार र लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, सिरहाका अनुसार झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको बाक्लो परिचालन गरिएको प्रशासनले जनाएको छ।
झडपमा गम्भीर घाइते भएका अर्का एक जनालाई प्रारम्भिक रूपमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ।
बिहीबार दिउँसोदेखि प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरूले मोटरसाइकल ग्यारेजमा आगजनी गरेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट ११ वटा मोटरसाइकल जलेर नष्ट भएका छन्। प्रदर्शनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ।
बिग्रँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। त्यसलगत्तै लहान नगरपालिकाको पूर्वतर्फ बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम), उत्तरतर्फ पूर्व–पश्चिम राजमार्ग तथा दक्षिणतर्फ राजमार्गबाट ५०० मिटर क्षेत्रसम्म अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू विस्तार गरिएको छ।
सुनसरीबाट सुरु भएको धार्मिक तथा सामुदायिक तनाव मधेशका अन्य जिल्लामा समेत फैलिन थालेपछि सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।
यसैबीच, विकसित घटनाक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेशका सांसदहरूले पार्टी सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले सुनसरीमा घटना सुरु भएदेखि नै प्रभावित जिल्लाका जनप्रतिनिधिसँग समन्वय नगरेको भन्दै गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
छलफलमा सहभागी एक सांसदका अनुसार सभापति लामिछानेले पछिल्लो घटनाक्रमप्रति पार्टी गम्भीर रहेको जनाउँदै सामाजिक सद्भाव कायम राख्न आवश्यक परे स्वयं मधेश पुगेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुनसरीबाट सुरु भएको तनावले मधेश प्रदेशका विभिन्न जिल्लामा असर देखिन थालेपछि सुरक्षा चुनौती थपिएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूले संयमता अपनाउन तथा कुनै पनि प्रकारका उत्तेजक गतिविधिबाट टाढा रहन सबै पक्षसँग अपिल गरेका छन्।