विराटनगर, ११ साउन । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको छ।
आयोगको कोशी प्रदेश कार्यालयले घटनाको प्रारम्भिक अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयवासीसँग जानकारी लिएको जनाएको छ।
आयोगका अनुसार झन्डा राख्ने विषयमा सुरु भएको विवाद डिजे बजाउने क्रममा उत्कर्षमा पुगेपछि दुई पक्षबीच तोडफोड र झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा मेहताको मृत्यु भएको र नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि विभिन्न स्थानमा प्रदर्शन तथा तनावको अवस्था देखिएको आयोगले जनाएको छ। स्थिति नियन्त्रणमा लिन कप्तानगञ्जमा सेना परिचालन गरिएको जानकारीसमेत प्राप्त भएको आयोगले जनाएको छ।
आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ। साथै, आयोगले सबै पक्षलाई संयम अपनाउँदै वार्ता र संवादमार्फत विवाद समाधान गरी सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
