काठमाडौं, साउन ७ । सर्लाहीको बलरा–५ का किसान सुरेशप्रसाद सिंह र उनका दाजु नागेन्द्रप्रसाद सिंह खेतका लागि रासायनिक मल किन्न भारतको बिहारस्थित सोनबरसा पुगेका बेला पक्राउ परेका छन्। उनीहरू भारतीय जेलमा परेको २२ दिन बितिसकेको छ।
असार १७ गते युरियाको एक बोरा र डीएपीको एक बोरा लिएर नेपाल फर्कने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको परिवारको दाबी छ। एसएसबीले भने दुई बोरा युरिया र छ बोरा डीएपी बरामद गरेको जनाएको छ।
पक्राउको भोलिपल्टै दुवै जनालाई जेल चलान गरिएको थियो। स्थानीय जनप्रतिनिधि र परिवारका अनुसार उनीहरू व्यावसायिक कारोबारी नभई आफ्नै खेतका लागि मल किन्न गएका किसान हुन्।
परिवारले भारतीय प्रशासनसँग समन्वय र कानुनी प्रक्रिया अघि बढाए पनि रिहाइ हुन सकेको छैन। भारतीय वकिलले उच्च शुल्क मागेपछि आर्थिक भारसमेत थपिएको छ।
परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय पक्षसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। सर्लाही प्रशासनका अनुसार पनि उनीहरू केही दिनमै रिहा हुने अपेक्षा गरिएको छ।
मल अभावले किसान सीमा पार गर्न बाध्य
सिंह दाजुभाइको घटना नेपालमा रासायनिक मल वितरण प्रणालीको कमजोरीको उदाहरण बनेको छ। सरकारले देशभर पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि किसानले समयमा मल नपाउँदा भारत पुग्न बाध्य भएको गुनासो छ।
कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब ५ लाख ६१ हजार टन रासायनिक मल आयात गरिएको छ भने हाल पनि देशभरका गोदाममा करिब ७४ हजार टन मल मौज्दात छ। तर स्थानीय तह, सहकारी र वितरण व्यवस्थाको ढिलासुस्तीका कारण मल किसानसम्म समयमै पुग्न नसकेको मन्त्रालयकै स्वीकारोक्ति छ।
नेपालमा वार्षिक करिब १३ लाख टन रासायनिक मलको माग भए पनि सरकारले करिब ६ लाख टन मात्र आपूर्ति गर्ने लक्ष्य राख्ने गरेको छ। माग र आपूर्तिबीचको यही ठूलो अन्तरका कारण हरेक वर्ष धान रोपाइँको समयमा किसानले मल अभाव झेल्दै आएका छन्।
सिंह दाजुभाइको पक्राउ प्रकरणले सरकारी अभिलेखमा मल मौज्दात देखिए पनि वास्तविक किसानसम्म सहज रूपमा नपुगिरहेको तथ्यलाई फेरि उजागर गरेको छ।