बुटवल । कोरोना महामारीका वर्तमान अवस्था र त्यसले शिक्षालगायत अन्य क्षेत्रमा पार्ने दीर्घकालीन असर विषयमा अखिल नेपाल बुद्धिजीवी सङ्घ रुपन्देहीको आयोजनामा शनिवार भर्चुअल अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको अवधारणा पत्रमाथि विज्ञद्धारा आआफ्ना धारणा तथा टिप्पणी प्रस्तुत गरिएको थियो । त्यस क्रममा हिरालाल धामीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा डा. रविन्द्र पाण्डे (स्वास्थ्य), लीलाबहादुर केसी (शिक्षा), सीताराम तामाङ (कृषि), सुनिल आचार्य (पर्यावरण) ले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतम, उपाध्यक्ष मनबहादुर खत्री, महासचिव भरत भण्डारी, अर्थशास्त्री डा. विजय पौडेलसमेतको आतिथ्यता रहेको थियो । सो अवसरमा लोकराज भुसाल, नारायण जिसी, रामदेव पाण्डेलगायतले पूरक टिप्पणी गर्नुभएको थियो ।
विभिन्न टिप्पणी तथा प्रश्नमाथि कार्यक्रमको अन्तमा नेकपा (मसाल) का बागमती प्रवक्ता समीर सिंहले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको समापन जिल्ला अध्यक्ष गोपालप्रसाद गैरेले गर्नुभएको थियो ।

