बुटवल, साउन २ । कम्युनिस्ट संग्रहालय नेपालको साधारणसभा आगामी भदौ ६ गते बुटवलमा हुने भएको छ।
संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षतामा बसेको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको महासचिव हरि आचार्यले जानकारी दिनुभयो।
साधारणसभामा अध्यक्ष आचार्यले संग्रहालयको प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय भएको उहाँले बताउनुभयो।
बैठकले आगामी पाँचवर्षीय कार्ययोजना तयार गर्न लिला केसीको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा चेतनाथ आचार्य र बद्रे आलम रहनुभएको छ।
त्यस्तै, विधान संशोधनका लागि हरि आचार्यको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। समितिका सदस्यमा भैरव रेग्मी र लक्ष्मणदेव पाण्डे रहनुभएको छ।
बैठकले संग्रहालयको अभिलेखीकरण तथा डिजिटलाइजेसन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णयसमेत गरेको महासचिव आचार्यले जानकारी दिनुभयो।