काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकार गठनको सय दिन पूरा हुँदा जनताले अनुभूति गर्ने कुनै उल्लेखनीय उपलब्धि नदेखिएको भन्दै सरकारमाथि तीव्र आलोचना गरेका छन् । उनले सरकार विकासका कामभन्दा विवाद सिर्जना गर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउन र आफ्ना असफलता ढाकछोप गर्न केन्द्रित भएको आरोप लगाए ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै रानाले सरकारको सय दिने कार्यकाल जनअपेक्षा विपरीत बितेको दाबी गरे । “सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो । तर सय दिन विकासमा होइन, विवादमै अल्झिएको देखियो”, उनले भने ।
उनले देशभर सुकुम्बासी समस्या जटिल बन्दै गएको, किसानले समयमा मल नपाएको, वर्षाका कारण सडक अस्तव्यस्त भएको, विद्यार्थी विद्यालय पुग्नसमेत कठिनाइ झेलिरहेको तथा विपद् व्यवस्थापन संयन्त्र लामो समयदेखि नेतृत्वविहीन रहेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए ।
स्वास्थ्य क्षेत्रको अवस्था पनि चिन्ताजनक रहेको उल्लेख गर्दै उनले रेबिज, क्यान्सरलगायतका बिरामीले आवश्यक औषधिसमेत नपाइरहेको बताए । त्यस्तै, नेप्सेमा आएको गिरावट, निजी क्षेत्रको बढ्दो निराशा, बालबालिकामा कुपोषण र युवाको निरन्तर विदेश पलायनले सरकारको आर्थिक तथा सामाजिक व्यवस्थापन कमजोर रहेको उनको टिप्पणी थियो ।
कूटनीतिक नियुक्तिमा समेत सरकारले गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै उनले राजदूत नियुक्तिलाई सामान्य रिक्त पदका रूपमा लिन नहुने बताए । “राजदूत नियुक्ति राष्ट्रहितसँग जोडिएको संवेदनशील विषय हो, यसलाई ॅभ्याकेन्सी’ जस्तो व्यवहार गर्न मिल्दैन”, उनले स्पष्ट पारे ।
रानाले सरकार आफ्ना कमजोरीबाट जनताको ध्यान मोड्न “पछिल्ला ३५ वर्षमा केही भएन” भन्ने भाष्य निर्माण गर्न लागेको आरोप लगाए । विगतका उपलब्धिलाई अस्वीकार गरेर नयाँ राजनीतिक कथा निर्माण गर्ने प्रयास लोकतान्त्रिक संस्कृतिका लागि उपयुक्त नभएको उनको भनाइ थियो ।
उनले सरकार संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको आरोपसमेत लगाए। सडकमा नागरिकको आवाज र संसदमा प्रतिपक्षको भूमिकालाई बेवास्ता गरिएको उल्लेख गर्दै उनले राष्ट्रिय समस्यामाथि संसदभित्र खुला बहस हुनुपर्नेमा जोड दिए ।
“लोकतन्त्रलाई मिचेर गरिएको विकासको कुनै अर्थ हुँदैन । लोकतन्त्रबाट मात्रै समावेशी र दिगो विकास सम्भव हुन्छ”, उनले संसदमा भने ।
महिला, दलित, जनजाति, पिछडिएका तथा सीमान्तकृत समुदायले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त गरेका अधिकारको संरक्षण गर्दै विकासको यात्रा अघि बढाउनुपर्ने उनको धारणा थियो ।
सत्तापक्षका सांसदहरूलाई पनि स्वतन्त्र रूपमा आफ्ना विचार राख्न आग्रह गर्दै उनले लोकतन्त्रको पक्षमा बोल्न नडराउन आह्वान गरे। आफू विपक्षी बेन्चमा रहे पनि लोकतन्त्र र संविधानको रक्षाका लागि सधैं अग्रपङ्क्तिमा रहने उनले बताए।
प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देशका ज्वलन्त समस्या, विपद् व्यवस्थापन, अर्थतन्त्र र जनजीविकाका विषयमा प्रत्यक्ष छलफल गर्न आग्रह गर्दै उनले सबै राजनीतिक दलले विगतका कमजोरी स्वीकार गर्दै सुधारको बाटो रोज्नुपर्ने बताए ।
भाषणको अन्त्यमा रानाले सत्ता परिवर्तन लोकतान्त्रिक प्रणालीको स्वाभाविक प्रक्रिया भए पनि लोकतन्त्र स्वयं कुनै पनि हालतमा कमजोर हुन नहुने उल्लेख गर्दै सरकारलाई संसदप्रति उत्तरदायी बन्न र राष्ट्रिय समस्या समाधानका लागि सहकार्यको बाटो रोज्न आग्रह गरे ।