काठमाडौं, असार २२ । सुकुमाया गुइदेलले आफ्ना श्रीमान् कृष्णकुमार दर्नाल र उनका परिवारले विवाहअघि वैदेशिक रोजगारीबाट आर्जन गरेको सम्पत्ति हत्याउने उद्देश्यले आफूलाई करिब ७५ लाख रुपैयाँ बराबरको आर्थिक तथा कानुनी विवादमा फसाएको आरोप लगाएकी छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दा खेप्न बाध्य भएको, यसअघि एक मुद्दामा १४ दिन हिरासतमा बस्नुपरेको र अर्को मुद्दामा जेल जाने जोखिम रहेको बताइन्। साथै, आफू र १० वर्षीया छोरीलाई धम्की तथा मानसिक तनाव दिइएको भन्दै नेपाल सरकारसँग निष्पक्ष छानबिन, न्याय र भौतिक सुरक्षाको माग गरिन्।
गुइदेलका अनुसार २०७८ सालमा जेठाजु सूर्यप्रसाद दर्नाल र उनकी तत्कालीन श्रीमतीबीचको अंशसम्बन्धी विवाद मिलाउने क्रममा आफ्नै बैंक खातामार्फत रकम कारोबार गराइएको थियो, जसका कारण अहिले कानुनी समस्यामा परेको उनको दाबी छ। उनले २०८० सालदेखि श्रीमान् सम्पर्कविहीन रहेको, छोरीको पालनपोषणको जिम्मेवारी नलिएको र सम्बन्धविच्छेद तथा अंशसम्बन्धी मुद्दासमेत दायर गरेर थप समस्या सिर्जना गरेको आरोप लगाइन्।
पत्रकार सम्मेलनमा अभियन्ता शोभा पाठकले गुइदेलका कागजात र घटनाक्रमका आधारमा उनी पीडित देखिएको भन्दै न्यायका लागि आवाज उठाउन पत्रकार सम्मेलन आयोजना गरिएको बताइन्।