अर्घाखाँची, असार १० । स्थानीय जनताको दबावका कारण खानी तथा भू–गर्भ विभागले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाभित्र सञ्चालन हुँदै आएको श्री भूगर्भ सिमेन्ट लिमिटेडको चुनढुङ्गा खानीको खनिज कार्य तत्कालका लागि स्थगन गर्न निर्देशन दिएको छ ।
विभागले २०८३ असार ८ गतेको विभागीय निर्णयअनुसार जारी गरेको पत्रमा खानी सञ्चालनसम्बन्धी निरन्तर गुनासो तथा उजुरी प्राप्त भएको उल्लेख गरेको छ । साथै जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र जिल्ला समन्वय समितिबाट प्राप्त पत्र तथा विभिन्न बैठकका निर्णयहरूका आधारमा खानी सञ्चालनमा स्थानीय प्रशासन र समुदायसँग आवश्यक समन्वय तथा सहकार्य नभएको पाइएको जनाइएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिकामा रहेको उक्त चुनढुङ्गा उत्खनन खानीका लागि २०५५ फागुन ३० गते उत्खनन अनुमतिपत्र नं. ३९/०५५/५६ जारी गरिएको थियो ।
विभागले स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य तथा सहजीकरणको प्रक्रिया अघि बढाउन कम्पनीलाई निर्देशन दिएको छ । उक्त प्रक्रिया पूरा भएपछि मात्र खानी सञ्चालन गर्न सकिने गरी हालका लागि सम्पूर्ण खनिज कार्य स्थगन गरिएको विभागले जनाएको छ ।
विभागका रिसर्च अफिसर बसन्त अधिकारीद्वारा हस्ताक्षरित पत्र जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय तथा सन्धिखर्क नगरपालिकालाई जानकारीका लागि पठाइएको छ ।
