काठमाडौं, १० असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका बेला गरेको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धता विपरीत व्यवहार देखाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्तिका रूपमा उदाएको दल सत्तामा पुगेपछि सल्लाहकार तथा व्यक्तिगत सहायक (पीए) हरूको ठूलो समूह खडा गरेको भन्दै आलोचना गरेका हुन् ।
उनका अनुसार निर्वाचनका बेला राज्यकोषको दुरुपयोग रोक्ने, राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर जनताको मत प्राप्त गरे पनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको छ ।
पोखरेलले हरेक मन्त्रालयमा समानान्तर शक्तिकेन्द्र निर्माण गर्ने तथा कार्यकर्ता भर्ती गर्ने प्रवृत्ति देखिएको आरोप समेत लगाएका छन् । उनले परिवर्तन र सुशासनको आशामा रास्वपालाई मत दिएका नागरिक अहिले कस्तो महसुस गरिरहेका होलान् भन्ने प्रश्न पनि उठाएका छन् ।
पोखरेलले भनेका छन्, ‘आम जनताको भरोसामाथिको योभन्दा ठूलो भद्दा मजाक अरू के हुन सक्छ ?’ उनले स्वेच्छाचारी व्यवहारले जनतालाई निराश नबनाउन तथा निर्वाचनका बेला गरेका वाचातर्फ फर्किन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।