टीकापुर, असार ७ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य तिलबहादुर परियार (तिलक) ले आफ्नो पदबाट राजीनामा दिएका छन्।
आठौं महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित परियारले आइतबार पार्टी संयोजकलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा उनले पार्टी आफ्नो घोषित राजनीतिक तथा वैचारिक कार्यदिशाबाट क्रमशः विचलित हुँदै गएको, विचार र सिद्धान्तभन्दा गुटगत स्वार्थ हाबी भएको तथा संगठन व्यक्ति–केन्द्रित बन्दै गएको आरोप लगाएका छन्।
परियारले आठौं महाधिवेशनले पारित गरेको कार्यदिशाले देश र जनताको भविष्यप्रति आशा जगाएको भए पनि पछिल्लो समय पार्टीभित्र गुटबन्दी र व्यक्तिगत स्वार्थका गतिविधि बढ्दै गएको उल्लेख गरेका छन्। पार्टीको समग्र हितभन्दा नेतृत्वको वरिपरि घुम्ने र व्यक्तिगत लाभ खोज्ने प्रवृत्ति मौलाउँदै गएको उनको दाबी छ।
राजीनामा पत्रमा उनले इमानदार कार्यकर्तालाई पाखा लगाउने, युवा पुस्तालाई अवसरबाट वञ्चित गर्ने तथा किसान, मजदुर, दलित र जनजातिलगायत आधारभूत वर्गसँग पार्टीको सम्बन्ध कमजोर बन्दै गएको आरोपसमेत लगाएका छन्। उनका अनुसार पार्टी जनसरोकारका मुद्दाभन्दा सत्ता–केन्द्रित राजनीतितर्फ उन्मुख हुँदै गएको छ।
त्यस्तै, पार्टीका संगठनात्मक संरचना चुस्त र व्यवस्थित बन्न नसकेको, अनुशासन र गोपनीयता कमजोर बन्दै गएको तथा संगठनभित्र चाकडी प्रवृत्तिको प्रभाव बढ्दै गएको उनको भनाइ छ।
पार्टीभित्र देखिएका यस्ता प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै परियारले वर्तमान अवस्थामा केन्द्रीय समिति सदस्य पदमा रहिरहन आफ्नो नैतिकताले अनुमति नदिएको निष्कर्षसहित राजीनामा दिएको बताएका छन्।
राजीनामा पत्रमार्फत उनले पार्टीमा रहँदा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण सहयोद्धा, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।

