काठमाडौँ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कमजोर प्रदर्शन गरेका नेपाली कांग्रेस, नेकपा, एमाले, राप्रपा लगायतका दलभित्र आन्तरिक विवाद र असन्तुष्टि चर्किएको छ । नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र नीतिगत सुधारको माग गर्दै नेपाली कांग्रेस, नेकपा, एमाले, राप्रपा लगायत दलभित्र असन्तुष्टि बढेको हो ।
नेकपामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीलाई सही दिशा दिन नसकेको आरोप लगाएका छन्। पार्टीभित्र कार्यविभाजन र नेतृत्वको भूमिकालाई लिएर विवाद बढ्दै गएको छ ।
कांग्रेसमा गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति र शेरबहादुर देउवा पक्षबीच महाधिवेशन, सदस्यता अध्यावधिक तथा संगठनात्मक संरचनालाई लिएर मतभेद चर्किएको छ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीमाथि निर्वाचनमा भएको कमजोर प्रदर्शनको जिम्मेवारी लिँदै नेतृत्व छाड्न दबाब बढेको छ। केही नेताले पार्टी पुनर्गठनका लागि नयाँ नेतृत्व आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन्।
राप्रपामा पनि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै धवलशमशेर राणा समूह अलग भएको छ ।
यस्तै, विप्लव नेतृत्वको नेकपा माओवादी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) समेत आन्तरिक विवादका कारण विभाजनको अवस्थाबाट गुज्रिरहेका छन् ।