काठमाडौं, ४ असार । भारतले नेपाली चिया निर्यातमा अघोषित अवरोध लगाएपछि इलाम र झापाका दर्जनौं चिया उद्योग तथा बगान बन्द भएका छन्।
नेपाल चिया उत्पादक संघका अनुसार १ असारदेखि इलामका ५६ उद्योग बन्द भइसकेका छन् भने ४ असारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगान पनि बन्द भएका छन्। निर्यात ठप्प हुँदा गोदाममा चिया थन्किएको, उद्योग सञ्चालन तथा मजदुर–कर्मचारीको तलब व्यवस्थापन गर्न कठिन भएको व्यवसायीहरूको भनाइ छ।
संघका अध्यक्ष आदित्य पराजुलीले समस्या समाधानका लागि सरकारसँग पटक–पटक कूटनीतिक पहलको आग्रह गरे पनि पर्याप्त सुनुवाइ नभएको बताए। भारतले लगाएको अवरोध नहटेसम्म बन्द फिर्ता नहुने संघले जनाएको छ।
झापा नेपालकै प्रमुख चिया उत्पादन क्षेत्र हो, जहाँ वार्षिक १२–१४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गरेको छ। निर्यात अवरोधका कारण करिब ६० हजार श्रमिक, कर्मचारी र किसान प्रभावित हुने अनुमान गरिएको छ।
यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी ले सरकारले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिरहेको बताएकी छन्।