काठमाडौँ, असार २ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले नेपाली चिया उद्योगले भारतीय पक्षबाट लागू गरिएका नयाँ मापदण्ड र परीक्षण प्रक्रियाका कारण निर्यात प्रभावित भएको भन्दै सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेको छ ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढकाराम पौडेलद्वारा हस्ताक्षरित असार २ गते जारी विज्ञप्तिमा चिया क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको चिया क्षेत्र हाल विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख छ । विज्ञप्तिअनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ ॅस्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी)’ का कारण नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको छ ।
संघका अनुसार भारतमा परीक्षणका लागि पठाइएका नेपाली चियाको प्रतिवेदन लामो समयसम्म नआउने तथा सामान्य कमजोरी देखिएमा चिया नष्ट गर्नेसम्मका व्यवस्था गरिएकाले नेपाली उत्पादकहरू समस्यामा परेका छन् । नेपालको कुल चिया उत्पादनमध्ये करिब ८६ देखि ९० प्रतिशत हिस्सा भारतमा निर्यात हुने भएकाले यसले समग्र चिया उद्योगमा गम्भीर असर पारेको जनाइएको छ ।
विज्ञप्तिमा हाल भारतका गोदाममा करिब २ लाख किलो चिया रोकिएको तथा निर्यातका लागि तयार गरिएको १० लाख किलोभन्दा बढी चिया नेपालमै थन्किएको उल्लेख छ ।
चिया उद्योगबाट वार्षिक करिब साढे चार अर्ब रुपैयाँ बराबरको निर्यात हुँदै आएको जनाउँदै सङ्घले उद्योगहरू बन्द हुने क्रम बढेको दाबी गरेको छ । विज्ञप्तिअनुसार केही उद्योग बन्द भइसकेका छन् भने दर्जनौँ उद्योग बन्द हुने जोखिममा रहेका छन् ।
यसबाट करिब ७० हजारभन्दा बढी मजदुर र १५ हजारभन्दा बढी किसान प्रत्यक्ष रूपमा प्रभावित भएको संघको भनाइ छ । चिया बगानमा नियमित रूपमा टिप्नुपर्ने चिया थन्किँदा थप क्षति बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ ।
चिया उद्योगसँग राष्ट्रिय उत्पादन, रोजगारी, निर्यात तथा विदेशी मुद्रा आर्जन जोडिएको भन्दै संघले नेपाल सरकारलाई भारतीय सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सीमा नाकामा जाँच व्यवस्थापन सहज बनाउन तथा चिया निकासीको दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । साथै अन्य मुलुकमा समेत चिया निर्यात विस्तारका लागि पहल गर्न सरकारसँग माग गरिएको छ ।