काठमाडौँ, जेठ २८ । राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्मा (राजेश) ले प्रधानमन्त्रीको सीमा र राष्ट्रियतासम्बन्धी अभिव्यक्तिलाई गैरजिम्मेवार तथा आपत्तिजनक भन्दै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।
जेठ २८ गते, बिहीबार राष्ट्रियसभाको बैठकमा समसामयिक विषयमा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण दुबै सदन लामो समय अवरुद्ध भएको र त्यसले संसदीय कामकारबाही प्रभावित भएको बताउनुभयो । देश र जनताको हितमा कानुन निर्माण तथा जनभावनाको प्रतिनिधित्व गर्नुपर्ने संसद् अन्य विषयमा अल्झिनु दुःखद भएको उहाँको भनाइ थियो ।
विश्वकर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी विषय नबुझेर मात्र नभई कुनै दूरगामी उद्देश्यसहित अभिव्यक्ति दिएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले नेपाल–भारत सीमा विवाद दशकौँदेखि समाधान हुन नसकेको उल्लेख गर्दै सुस्ता, लिपुलेक र कालापानी क्षेत्रको सामरिक महत्वका कारण विवाद कायम रहेको दाबी गर्नुभयो ।
उहाँले नेपालको सार्वभौमिकता, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षण सम्पूर्ण नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै देश र राष्ट्रको हित सबैभन्दा माथि हुनुपर्ने बताउनुभयो ।
साथै, नेपाली र भारतीय जनताबीच ऐतिहासिक रूपमा सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै जनस्तरको सम्बन्धलाई राजनीतिक नेतृत्वका गतिविधिबाट अलग रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो । भविष्यमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट यस्ता अभिव्यक्ति नदोहोरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।