ऋतु केसी
झुपडीमा बसेर मुक्तिको भाका गाएर
आमूल परिवर्तनको आश्वासन दिँदै
महलामा पुगेर भाका फेर्ने तिम्रो नियत
वर्गीय समानताको लडाइँ भन्दै बन्दुक उठाएर
हजाराँै मानिसलाई युद्धको सपना बाँडेर
विलासिता र सुखसयलको आकर्षणमा
तिमी चुर्लुम्मै डुब्दै गर्दा
भन जलेका झुपडीमा या आलिशान महलमा
कहाँ खोजुँ तिम्रो राष्ट्रियता ?
महामारीसँग सिङ्गो मुलुक लड्दै गर्दा
झरीले पहाड झार्दै गर्दा
बाढीले तराई डुब्दै गर्दा
सयौँ मान्छे गुहारसम्म भन्न नपाई
सुतेको बिछौनीसँगै मृत्युवरण गर्दा
यी कसैले छोएन तिम्रो संवेदनालाई
तिमी त यता
त कि म ?
वार कि पार ?
भोलि होइन आजै
आजै पनि होइन अहिल्यैको
लडाइँमा पो थियौ
भन– कुर्सीको कुन पद
अनि, हाडालुछीको कुन लडाइँमा
कहाँ खोजुँ तिम्रो राष्ट्रियता ?
कोरोनाजस्तो माहामारीको
देशमा लगभग प्रवेश भइसकेको थियो
तिमीलाई त कमिसन कुम्ल्याउने
कस्तो आकर्षक चिट्ठा पो खुले छ
अत्यावश्यक औषधिमा समेत
छोपिन नसकेको तिम्रो नियत
पिपिई, माक्स, औषधिको बट्टा
ट्याबलेटको पत्ता के पो छोडयौ र है !
भन– लाजले पनि लाज मान्ने
कमिसनको कुन खेलमा या
टेन्डरको कुन बुँदामा खोजुँ
तिम्रो राष्ट्रियता ?
विकासको नाममा कलकारखाना निजीकरण गर्दै
उद्योगहरू ध्वस्त पार्दा
माटोमै लगभग विलीन हुन लागेका
ती अर्बौंका कारखानाले गिज्याइरहे छन्
बेरोजगारीको चर्काे नमुना
लाखौँलाख युवाशक्तिलाई विदेश धपाएर
रेमिट्यान्सकै भरमा
समृद्घ नेपालको झुटखेती गर्दै गर्दा
भन– बाकसमा आउने ती युवाको सपनामा या
डुबेका ती कैयौँ कारागारका खण्डमा
खोजुँ तिम्रो राष्ट्रियता ?
राष्ट्रिय पुँजीको विकास गर्दै देशलाई
आत्मनिर्भर बनाउने ती नारा
कृषिप्रधान देश आफ्नै उत्पादनमा
जोड दिने ती वाचा
विष हालेको खानै नमिल्ने
आयातित फलफूल तथा तरकारी
तर। आफ्नै कृषकको उत्पादन
बारीमा कुहिएर हरेस खाएको किसान
कृषिप्रधान मेरो देश
अर्बांैको त चामल मात्र आयात
पानी नै पानीले विश्वमै दुई नम्बरको धनी
मेरो देश
तर पिउनकै लागि विदेशबाट झिकाइएका
मिनरलका बोत्तलहरू
भन– कृषकका ती हारेका आत्मविश्वासमा या
परनिर्भरताको परकाष्ठा
कहाँ खोजुँ तिम्रो राष्ट्रियता ?
कहीँ कतै छाम्दा, खोज्दा कसैगरी
भेटिनँ तिम्रो राष्ट्रियता
बडो दुख लाग्छ,
अब त सोच, ब्युझ
आफूभन्दा पहिले मेरो देश भन
पद, कमिसन, विलासितालाई
त्याग्न सक्यौँ भने
तिम्रो राष्ट्रियता भेटिने छ
तिम्रो राष्ट्रियता भेटिएको दिन
तिमी हारे पनि यो देशले जित्ने छ ।