नवलपरासी, १ जुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले अवरोध गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हिंजो आइतबार जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्ति पछि सीमाक्षेत्रमा तनाव उत्पन्न भएको हो । यससँगै संसदमा बालेनले बोलेको विवादास्पद धारणाले सुस्ताका जनता थप पिडामा पर्न थालेका छन् ।
स्थानीय जनप्रतिनिधिका अनुसार आइतबार साँझ भारतीय सुरक्षाकर्मीहरू निर्माणस्थलमा पुगेर काम रोक्न दबाब दिएका थिए । नारायणी नदीको कटानबाट सुस्ता क्षेत्र जोगाउन करिब १४ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण भइरहेको छ ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले निर्माण कार्यको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा भारतीय पक्षको अवरोधले अन्योल सिर्जना गरेको बताए ।
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा सिँचाइ मन्त्रालयमार्फत निर्माण भइरहेको तटबन्ध (बाँध) को काममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्याएपछि यो विषयले अहिले ठूलो राजनीतिक र कूटनीतिक रूप लिएको छ ।
तटबन्ध निर्माणमा अवरोध : सुस्ता–५ स्थित नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले करिब १४ करोडको लगानीमा तटबन्ध निर्माण गरिरहेको थियो। उक्त कार्यको झन्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भारतीय एसएसबीले काम रोक्न चेतावनी दिएको हो ।
एसएसबीको उपस्थितिः आइतबार साँझ ४०–५० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीहरूले “विवादित क्षेत्र” भन्दै निर्माण कार्य तत्काल रोक्न दबाब दिएपछि अहिले त्यहाँको काम ठप्प भएको छ । स्थानीय ‘सुस्ता बचाउ अभियान’का अगुवाहरूले पनि भारतीय पक्षले काममा व्यवधान खडा गरेको पुष्टि गरेका छन् ।
संसदको बहसः प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालको सीमा दाबी र परराष्ट्र नीतिबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरू र कूटनीतिक वृत्तले चर्को आलोचना गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय र आन्तरिक प्रतिक्रियाः कतिपय संविधानविद् तथा राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्रीको उक्त टिप्पणीले नेपालको स्थापित सीमा दाबीलाई कमजोर बनाउन सक्ने भन्दै ‘राष्ट्रघाती’सम्मको संज्ञा दिएका छन्, भने भारततर्फबाट यसमा फरक खालका प्रतिक्रिया आएका छन् । यही कूटनीतिक संवेदनशीलताको फाइदा उठाउँदै भारतीय पक्षले सीमामा दबाब बढाएको अनुमान गरिएको छ ।
सुस्ताको पृष्ठभूमिः सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारतबीचको प्रमुख सीमा विवादित क्षेत्र रहँदै आएको छ । नापी विभागको तथ्यांक अनुसार सुस्ताको ठूलो भूभाग अतिक्रमणमा परेको छ, जसका कारण नेपाली भूमिमै सडक, पुल वा तटबन्ध जस्ता पूर्वाधार बनाउँदा पनि भारतीय एसएसबीले पटक–पटक अवरोध सिर्जना गर्ने गरेको छ ।
प्रधानमन्त्री बालेन शाहको सीमान विवाद सम्बन्धीको गलत धारणाले निभ्न लागेको आगोमा तेल थप्ने काम गरेको छ ।