काठमाडौँ । नयाँ अध्ययनअनुसार पछिल्ला आठ वर्षमा युद्धग्रस्त क्षेत्रहरूमा ‘खाद्यसम्बन्धी हिंसा’ का २० हजारभन्दा बढी घटना रेकर्ड भएका छन् । अध्ययनकर्ता ‘इनसेक्युरीटी इनसाइट’का अनुसार बजार, खेतीयोग्य जमिन र खाद्य वितरण प्रणालीलाई लक्षित गर्दै भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको हो ।
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको प्रस्ताव २४१७ पारित भएयता गाजा, सुडान, यमन, सिरिया र मालीलगायत १५ देशमा खाद्य आपूर्तिमाथि २१ हजारभन्दा बढी आक्रमण भएका छन् । अध्ययनमा बजारमाथि १,२६१, खाद्य वितरण प्रणालीमाथि ८६३ तथा कृषियोग्य जमिनमाथि १,९०९ सैन्य आक्रमण भएको उल्लेख छ ।
सबैभन्दा बढी प्रभावित क्षेत्र अधीनस्थ प्यालेस्टिनी भूभाग रहेको छ, जहाँ ९ हजारभन्दा बढी आक्रमण भएका छन् । अनुसन्धानकर्ताका अनुसार राहत सामग्री लिन गएका सर्वसाधारण पनि निशानामा परेका छन् । अक्टोबर २०२३ यता राहत सामग्री प्राप्त गर्ने क्रममा १० हजारभन्दा बढी मानिस मारिएका वा घाइते भएका छन् ।
अध्ययनले भोकमरीलाई हतियार बनाउँदा महिलाहरू असमान रूपमा बढी प्रभावित भएको उल्लेख गरेको छ । खाद्य अभावका कारण महिलाहरू परिवार पाल्ने मुख्य जिम्मेवारी वहन गर्न बाध्य भएका छन् भने बालबालिकाको स्वास्थ्य र शिक्षामा दीर्घकालीन असर परेको जनाइएको छ ।