दाङ । राष्ट्रिय जनमोर्चा दाङले भूमिहीन सुकुम्वासीका समस्या बुझ्नका लागि प्रत्यक्ष रूपमा नै उनीहरूसित भेटघाट गरेको छ ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य नेतृत्वमा एउटा टोलीले २०८३ जेठ ७ गते बिहीबार सो भेटघाट गरिएको हो ।
सो क्रममा राजमोको टोली घोराहीका विभिन्न बस्ती पुगेको थियो । भेटघाटमा भूमिहीन सुकुम्वासीले आफूहरूले दशकौँदेखि जोतभोग गर्दै आएको र बसोबाससमेत गरेको जमिनको स्वामित्व आफैले पाउनुपर्ने दाबी गरेको आचार्यले युगदर्शनलाई बताउनुभयो ।
आचार्यले पनि स्थानीय सरकार र जिल्ला प्रशासनमार्फत सङ्घीय सरकारलाई ज्ञापनपत्र बुझाएर त्यही माग अगाडि सारेको जानकारी गराएको बताइएको छ ।
आफूसित व्यक्त सुकुम्वासीको प्रतिक्रिया उल्लेख गर्दै आचार्यले भन्नुभयो– ‘पीडित स्थानीय नागरिकको हाम्रो घर बास नै खोसिन्छ भने कि हामी मार्छौं कि हामी सरकारका मान्छेसितको लडाइँमा मर्छौं भनेका छन् ।’
राजमोले सुकुम्वासीको समस्यामा सहकार्य गर्ने निर्णय गरेकाले सोहीअनुसार आज दाङमा सो भेटघाट सम्पन्न भएको आचार्यले बताउनुभयो ।