काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।
२०८३ जेठ ५ गते मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले सर्वोच्च पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । त्यसलगत्तै उनको शपथ ग्रहण गराइएको थियो ।
संवैधानिक परिषद्ले न्यायपरिषद्ले पठाएका छ जनाको नाममध्ये हाल सर्वोच्चमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो ।
संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बारलगायतको विरोध जारी छ ।
सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल छिन् । वरियताक्रममा उनी नै प्रधानन्यायाधीश हुने प्रचलन रहिआएको छ ।
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार गरेको थियो ।
छ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाले पनि निर्णय गर्न सक्ने प्रावधान अध्यादेशमा राखिएको थियो । त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो ।
डा. शर्माको सिफारिस विरुद्ध सर्वोच्चमा रिट परेको थियो तर प्रशासनले त्यसलाई दरपिठ गरिदिएको थियो । त्यसका विरुद्ध बार एसोसियसनले आजै लालटिन प्रदर्शन गरेको थियो ।