काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको जनाएको छ ।
शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको हो ।
परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले अबको चार दिन अर्थात बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने बताएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा फाराम भरेका थिए ।
तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षार्थी छन् । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्रसहित अन्य सात जना परीक्षामा सहभागी भएको परीक्षा बोर्डले जनाएको थियो ।