काठमाडौं । नेपाल टेलिकमले आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने सुविधा ल्याएको छ ।
टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड स्टार४१२ह्याच प्रयोग गर्नु पर्छ । कम्पनीको जिएसएम मोबाइलबाट स्टार४१२ह्याच डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ ।
कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (एसआईपी) सेवाहरुको रिचार्ज यूएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।
त्यसैगरी नयाँ सिम एक्टीभेट गर्न हाल १४१५ मा कल गरी ‘फस्र्ट कल एक्टिभेसन’ गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले स्टार१४१४ह्याच डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ।
नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट मार्फत रिचार्ज गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको रिचार्ज समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको छ ।