काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
सुकुम्वासी बस्ती तहसनहस भएपछि बिचल्लीमा परेका तेस्रोलिंगी व्यक्तिहरूका लागि सुरक्षित र सम्मानजनक अस्थायी आश्रय आवश्यक रहेको भन्दै अधिकारकर्मीहरूले छुट्टै सेल्टरको व्यवस्था गर्न माग गरेका हुन् ।
घर, परिवारबाट निकालिएका, आफ्नै परिवारले हिस्सा नै नठानेका, र सामाजिक बहिष्कारको सिकार बनेका धेरै तेस्रोलिंगी व्यक्तिहरू वर्षौँदेखि सुकुम्वासी बस्तीमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
थापाथली, सिनामंगल, शान्तिनगर, गैरीगाउँ, मनोहरा लगायतका सुकुम्वासी बस्ती उनीहरूका लागि केवल बसोबासको स्थान मात्र थिएनन्, बरु समाज र परिवारबाट अस्वीकार गरिएका व्यक्तिहरूका लागि अन्तिम आश्रयस्थल बनेका थिए । ती बस्ती हटाइएपछि उनीहरू एकाएक सडकमा आइपुगेका छन् ।