खिमराज चालिसे
नयाँ दिल्ली । भारतको चंडीगढबाट सोझा–साझा नेपाली नागरिकहरूलाई क्यानाडा वा अन्य देशमा पठाउने बहानामा ठगी गर्ने एकजना गिरोहलाई चण्डीगढ पुलिसले पक्राउ गरेको छ ।
उक्त व्यक्तिलाई अप्रेल २२, २०२६ का दिन भारतको पंजाब राज्य अन्तर्गत रोपडबाट पक्राउ गरिएको छ ।
स्थानिय पुलिस प्रशासनका अनुसार पक्राउ परेको व्यक्तिले नक्कली कागजात बनाएर धेरै नेपालीहरूलाई ठगिगरेको थाह लागेको छ । पक्राउ पर्ने व्यक्ति मुख्य अभियुक्त रहेको समेत चण्डीगढ पुलिसले बताएको छ ।
हाल उक्त अभियुक्तलाई मोहालीको बेलोंगी थानामा राखी २ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको चण्डीगढ पुलिसले जनाएको छ ।
पक्राउ पर्ने व्यक्तिको वास्तविक नाम अनिता विश्वकर्मा रहेको तर उनले आफूलाई एलिसा कार्कि भनेर चिनाउँदै लामो समयदेखि ठगी गर्दै आएकी थिइन् ।
प्रारम्भिक जानकारी अनुसार उनले करिब २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।
यस ठगी प्रकरणमा नेपाल, बारा जिल्ला निवासी उमेश लामिछानेलाई विगत २ वर्षदेखि धोका दिई लुकेर बसेको र नक्कली वर्क परमिट बनाएर करिब ५२ लाख रुपैयाँ ठगी गरेको पुष्टि भएको छ ।
उक्त समूहसँग सम्बन्धित Best Travel Agency (DI Centre, Sector 118, Mohali) को संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत फरार अवस्थामा रहेको बुझिएको छ।
अभियुक्तलाई पक्राउ गर्नका लागि समाजसेवी एवं अधिवक्ता ललिता पोखरेलको विशेष पहल, स्थानीय वकिलहरूको टोली, समाजसेवी तथा पंजाब प्रहरीको संयुक्त पहल रहेको थियो ।
अधिवक्ता ललिता पोखरेलले यस ठगीमा परेका अन्य नेपालीहरूलाई पनि अगाडि आउन र हकको लडाईमा आफ्नो विवरण साझा गर्न अनुरोध गर्नु भएको छ । उहाँका अनुसार प्रयाप्त प्रमाणहरू जुटाउन सकेमा कानुनी कारबाहीलाई अझ बलियो बनाउन सकिने छ ।