लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले वर्तमान सरकारको गतिविधिलाई फासिवादी चरित्र झल्किएको बताउनु भएको छ ।
भट्टराईले आईतवार चैत ६ गते लुधियानामा सम्पन्न सभामा मन्तव्य राख्दै महासचिव भट्टराईले ‘वर्तमान बालेन सरकारमा फासिवादी र निरंकुश चरित्र झल्किएको छ ।’ भट्टराइले अगाडि भन्नुभयो, ‘बालेन सरकारले देशभरी नै डोजर आतंक मच्चाएर जनतालाई वेघरबार बनाइरहेको छ ।’
उहाँले सरकारका कतिपय गतिविधि लोकतान्त्रिक मान्यता विरुद्धमा गएको समेत जोड दिनुभयो । ट्रेडयुनियन र विद्यार्थी संगठनहरूमाथि प्रतिवन्ध लगाउने कार्य सरकार निरंकुश तर्फ गइरहेको भट्टराईले बताउनु भयो । ‘जनअधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सचेत रहनुपर्ने आवश्यकता छ ।’ उहाँले भन्नुभयो, ‘देशको वर्तमान अवस्था, राजनीतिक परिस्थिति तथा प्रवासी नेपालीहरूको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा देशमा गम्भीर अवश्था सृजना भएको छ ।’
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, क्षेत्रीय सदस्य उदय सिंह चन्द, महिला क्षेत्रीय सदस्य दीपा चन्द, नगर समितिका नेताहरू राजु पौडेल, माधव भट्टराई, नरबहादुर विक, नारायण पोखरेल, डोटी राज्य सदस्य मान सिंह मल्ल लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम चक्र चन्दको अध्यक्षता तथा गोविन्द परियारको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरूलाई मन्तव्यबाट खुम बहादुर थापाले स्वागत गर्नु भएको थियो ।