काठमाडौँ । ढुवानी खर्च बढेको भन्दै पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघले जनाएको छ ।
कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको महासंघको भनाइ छ ।
महासंघले सरकारसँग उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेको छ ।
महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उपभोक्ता, वितरक र सरोकारवाला निकायलाई यो बाध्यात्मक परिस्थितिलाई बुझिदिन र सहयोग गर्न अपिलसमेत गरिएको छ ।


