गोरखाबजार । १३ दिनमा तीनपटक सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँपटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छिन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिइन् ।
श्रेष्ठ यसअघि २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उहाँको नामअङ्कित भएको थियो ।
१३ दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नामअङ्कित गरिएको उनले जानकारी दिए ।
‘पहिलोपटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए । त्यसपछि २०८२ जेठ ४ गते पाँचौँपटक आरोहण गरेँ’ श्रेष्ठले भनिन् ।
उनले आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरी र मनास्लु हिमाल पटकपटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छिन् ।
आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका–९ आरुटार निवासी हुन् ।