काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट एकै समयमा एसईई परीक्षा सुरु भएको हो ।
अधिकारीका अनुसार एसईई परीक्षामा यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने गरि पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिंदै छन् ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ भने, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
परीक्षक र संपरीक्षकले परीक्षा कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ ।