सौल । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको बिसौँ वर्षप्रवेश तथा महासङ्घको एकहत्तरौँ स्थापना दिवस सम्पन्न भएको छ ।
मार्च २९, २०२६ का दिन “डायस्पोरा मिडिया समिट–२०२६” अन्तर्गत पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सिओलमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रवासमा नेपाली पत्रकारिताको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे गहिरो बहस र सिकाइको अवसर प्रदान गरेको बताइएको छ ।
कार्यक्रमको पहिलो चरणमा सय बढी सहभागीको उत्साहजनक उपस्थितिमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।
कोरियामा क्रियाशील नेपाली पत्रकार तथा पत्रकारितामा प्रवेश गर्न इच्छुक सहभागीलाई लक्षित गर्दै विभिन्न समसामयिक विषयमा व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो ।
सो अवसरमा सिओल राष्ट्रिय विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता प्रकाश धमलाले डिजिटल पत्रकारिताको बदलिँदो स्वरूप, अवसर र चुनौती, ‘प्रोसुमर’ संस्कृतिको उदय, मोबाइल पत्रकारिताको विस्तार तथा पोस्टट्रुथ युगमा सूचना विश्वसनीयताको संकटबारे गहन विश्लेषण प्रस्तुत गरे ।
यसै सत्रमा कार्यक्रमका प्रमुख प्रशिक्षक तथा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रशिक्षार्थीलाई पत्रकारितामा विश्वसनीयता, उत्तरदायित्व र तथ्यपरक अभ्यासलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।
कार्यक्रमका अन्य प्रशिक्षक बलराम पुडासैनी, कोकिल पौडेल, रमेश शिवाकोटी र उत्तम खाजुमले युट्युब कन्टेन्ट निर्माण, प्रस्तोता कला, समाचार लेखन तथा सम्पादन, रिपोर्टिङ, अन्तर्वार्ता, अनुसन्धानमूलक पत्रकारिता, फोटो/भिडियो पत्रकारिता तथा तथ्य जाँचका विषयमा व्यवहारिक प्रशिक्षण दिए ।
पहिलो सेसनको सहजीकरण महासङ्घ दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्काले गरेका थिए ।
दोस्रो चरणको कार्यक्रम पनि खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । सो सत्रमा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आचार्य आतिथ्य तथा विशिष्ट अतिथिमा नेपाली राजदूतावास दक्षिण कोरियाका उपप्रमुख निर्मल भट्टराई, एनआरएनए दक्षिण कोरियाका संरक्षक प्रकाश धमला, केन्द्रीय उपाध्यक्ष जुनु गुरुङ, संस्थापक अध्यक्ष केपी सिटौला, वर्तमान अध्यक्ष विपिनकुमार गुरुङ तथा वरिष्ठ उपाध्यक्ष तारा पुनलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।
सरोकारवाला तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले प्रवासमा नेपाली पत्रकारको भूमिका पेशागत सीमाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वको उदाहरण बनेको उल्लेख गर्दै यस्ता कार्यक्रमले पत्रकारितालाई थप सशक्त र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे।
डायस्पोरा मिडिया समिट–२०२६ अन्तर्गत सम्पन्न कार्यक्रमले प्रवासमा नेपाली पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्दै जिम्मेवार, तथ्यपरक र व्यावसायिक अभ्यासलाई अझ मजबुत बनाउने बताइएको छ ।