दोधारा चाँदनी (कञ्चनपुर), १३ चैत । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ ।
पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ ।
पुल निमार्णको सम्झौताअनुरूप त्यतिबेला काम सुरु भएर तीनवटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिर्वतन भएर पुल निर्माण हुन १२ वर्ष लागेको हो । “पुलको फाउन्डेसनमै समस्या देखिएपछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लाग्यो”, डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले भने, “पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भइसकेको छ ।” उनका अनुसार उक्त पुल निमार्णका लागि तीनपटकसम्म म्याद थप गरिएको थियो ।
दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका थिए । “पुल बनेपछि हामीलाई आवतजावतमा सहज भएको छ, वर्षात्मा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो ।” यहाँका स्थानीय भूपेन्द्र चौधरीले भने, “पुल बनेपछि यहाँका स्थानीयलाई ठूलो राहत भएको छ ।”
नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय रमेश महर बताउछन् । “नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती छ”, महरले भने, “पुल बनेपछि यहाँका स्थानीय हर्षित छन् ।”