स्थायी (पहिलो भाग)
क्रान्ति हाम्रो जारी छ,
शासकलाई जनता भारी छ ।
हत्केलामा ज्यान राखी
प्राणभन्दा देश माथि ॥
यो स्थायीले समग्र गीतको मुख्य सन्देश र धार स्पष्ट पार्छ ।
यहाँ “क्रान्ति जारी छ” भन्नु मात्र नाराबाजी होइन, यो नेपालमा चलिरहेको दीर्घकालीन जनसंघर्षको निरन्तरता हो ।
“शासकलाई जनता भारी छ” भन्ने पंक्तिले जनताको शक्ति कुनै पनि सत्ताभन्दा ठूलो हुन्छ भन्ने यथार्थ देखाउँछ ।
“प्राणभन्दा देश माथि” भन्ने भावले देशप्रेम र वलिदानी चेतनालाई उच्च स्थान दिएको छ ।
समग्रमा, स्थायीले सांस्कृतिक आन्दोलनको वैचारिक आधार—देश, जनता र परिवर्तनप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ।
अन्तरा १
हजारौँ अत्याचार पछ्याउँदै
इन्कलाबको नारा घन्काउँदै।
क्रान्तिको राँको बालेर
साहस र वीरताको पाइला चालेर॥
यो अन्तराले नेपालको राजनीतिक इतिहासमा भएका शोषण, अत्याचार र त्यसविरुद्धको प्रतिरोधलाई चित्रण गर्छ ।
“इन्कलाबको नारा” र “राँको बालेर” जस्ता शब्दहरूले रक्तिम सांस्कृतिक अभियानको हिजोको भूमिका— संघर्ष, विद्रोह र जनजागरणलाई सम्झाउँछन्।
यसले देखाउँछ कि परिवर्तन सजिलै आएको होइन, बरु त्याग, साहस र निरन्तर संघर्षको परिणाम हो ।
अन्तरा २
न्याय र समानताको लागि
संकल्पको कफन बाँधी।
हिमाल पहाड ब्युँझाउँदै आयौँ
गरिबको आवाज बोकी गुञ्जिँदै आयौँ॥
यो अन्तराले आन्दोलनको उद्देश्य र लक्ष्यलाई स्पष्ट पार्छ—न्याय, समानता र वर्गहीन समाजको परिकल्पना।
अन्तरा ३
“हिमाल पहाड ब्युँझाउँदै” भन्नाले देशभरि चेतना फैलिएको संकेत गर्छ भने “गरिबको आवाज” ले वर्गीय पक्षधरता झल्काउँछ ।
यो आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ, जहाँ सांस्कृतिक आन्दोलनमार्फत जनचेतना जगाउने कार्य जारी छ।
समग्र राजनीतिक तथा सांस्कृतिक सन्दर्भ
नेपालको वर्तमान राजनीतिमा, विशेष गरी नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा जस्ता पार्टीहरूले बोकेको विचारधारा समाजवाद हुँदै साम्यवादसम्मको यात्रा हो ।
यस यात्रामा “रक्तिम अभियान” जस्ता सांस्कृतिक मोर्चाहरूले जनताको चेतना निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
नेताहरूले घण्टौँ भाषण गर्दा पनि जनतामा प्रभाव नपर्न सक्ने अवस्थामा, गीत–संगीतले ३ देखि ५ मिनेटमै गहिरो प्रभाव पार्न सक्ने धेरै इतिहास छन् ।
हिजो गाउँ–बस्तीमा “रक्तिम सांस्कृतिक अभियानको कार्यक्रम छ” भन्ने खबर सुन्दा जनता उर्लिएका थुप्रै उदाहरणहरू छन्।
यस गीतले पनि आज सुतेका जनतालाई आन्दोलनमा होमिन प्रोत्साहित गरेको छ ।
यो गीतले सरल शब्द, सशक्त भाव र संगीतको माध्यमबाट राजनीतिक सन्देशलाई जनताको मन–मस्तिष्कमा पुर्याउने कोशिस गरेको छ ।
समग्रमा, क्रान्तिकारी गीत तथा संगितहरू केवल मनोरञ्जनका लागि मात्र नभई सांस्कृतिक आन्दोलनको हतियार हो ।
विचार स्पष्ट छ
भाव क्रान्तिकारी छ
सन्देश जनमुखी छ
अन्त्यमा, आजको समयमा “क्रान्ति” शब्दको भाव जोगाएर पनि शब्द चयनलाई अलि आधुनिक, सहज र जनजीवनसँग नजिक बनाउने हो भने यस्ता गीतहरू अझ लोकप्रिय र प्रभावकारी बन्न सक्छन् ।
किन कि अहिलेको पुस्ताले भावभन्दा बढी प्रस्तुति र भाषासँग छिटो जोडिन्छ ।
त्यसैले, भाव क्रान्तिकारी राख्दै शब्दलाई समयअनुसार परिमार्जन गर्नु भविष्यमा यस्ता सांस्कृतिक अभियानलाई अझ व्यापक बनाउने मार्ग हुन सक्छ ।
यो गीतको रचना दीप गोले तामाङले गर्नुभएको छ । त्यस्तै संगीत तथा संयोजन हेमराज आश्रमले गर्नुभएको छ भने स्वर हेमराज आश्रम र देवी बस्नेतको रहेको छ । प्रकाशक रक्तिम अभियान, रौतहट रहेको छ ।