काठमाडौँ । जातीय समता समाजले बलात्कारपछि हत्या गरिएकी इनिसा विकका अपराधी पत्तालाई हदैसम्म कारबाही गर्न माग गरेको छ ।
अध्यक्ष राजेश विश्वकर्माको हस्ताक्षरमा २०८२ चैत २ गते सोमबार जारी प्रेसवक्तव्यमा सो माग गरिएको हो ।
इनिसाका पीडित परिवारलाई क्षतिपूर्ति माग गरिएको प्रेसवक्तव्यमा मृतकप्रति श्रद्धाञ्जलीी तथा शोकसन्तप्त परिवारप्रति समवेदनासमेत व्यक्त गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बसोबास गर्ने १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति जातीय समता समाजको गम्भीर ध्यान आकर्षित भएको छ ।
मृतक इनिसा विक स्थानीय उषा बालबालिका स्कुलमा कक्षा ११ मा अध्ययनरत जेहेन्दार छात्रा थिइन् । गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युसन पढ्न भनी घरबाट निस्केकी इनिसा अबेरसम्म घरमा नआएपछि खोजी गर्दा वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकको जङ्गलमा बेहोस अवस्थामा भेटिइन् । उनको शरीर रक्ताम्मे र नग्न अवस्थामा थियो । घटनाको प्रकृतिले उनलाई सामूहिक बलात्कारपछि क्रुरतापूर्वक हत्या गरिएको देखिन्छ । यो अत्यन्त अमानवीय, क्रुर र निन्दनीय घटना हो । यस प्रकारको जघन्य अपराधको हामीले घोर निन्दा र भत्र्सना गर्न चाहन्छौँ ।
हालसम्म प्रहरी प्रशासनले घटनामा संलग्न कथित प्रेमी अनमोल गौली र उनका सहयोगी गौरव ढकाल, दीपेश ढकाल, आशिक ढकाल गरी चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धन गररिहेको जानकारमा आएको छ । यो घटनालाई कुनै पनि बहानामा अनुसन्धानलाई कमजोर पार्ने र कुनै राजनीतिक दबाबमा परेर अपराधीलाई छोड्ने नगरियोस् भनी खबरदारी गर्दै निष्पक्ष अनुसन्धान गरेर यस जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गरियोस् र पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् भन्ने माग गर्दछौँ ।
अन्तमा मृतक इनिसा विकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।”