नाइरोबी । केन्यामा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६२ जना पुगेको सरकारले जानकारी दिएको छ ।
आन्तरिक तथा राष्ट्रिय प्रशासन मन्त्रालयका अनुसार, मृतकमा ४६ पुरुष, आठ महिला र आठ बालबालिका रहेका छन् ।
मन्त्रालयले नाइरोबीमा सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको, त्यसपछि पूर्वी क्षेत्र १७ र रिफ्ट भ्याली क्षेत्रमा सात जनाको मृत्यु भएको जानकारी दिएको छ ।
सरकारले बाढीले १० हजारभन्दा बढी परिवार प्रभावित भएको र चार हजार आठ सय ४५ जनालाई सुरक्षित ठाउँमा सरेर बस्न बाध्य भएको जनाएको छ ।
भारी वर्षाका कारण पूर्वी अफ्रिकी राष्ट्रका विभिन्न भागमा बाढी आएको, सडक अवरुद्ध भएका, सम्पत्ति नष्ट भएका र प्रभावित समुदायमा असहज अवस्था सिर्जना भएको बताइएको छ । मृत्युसँगै पूर्वाधार र जीविकोपार्जनमा पनि ठुलो क्षति भएको छ ।
केन्या मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको र जीवनरक्षाका लागि अत्यन्त सतर्क रहन स्थानीयबासीलाई आग्रह गरेको छ । (रासस/सिन्ह्वा)