काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले कामरेड मुक्तिराम न्यौँपाने (कामरेड कृति) को मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुको साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज फागुन २९ गते शोक वक्तव्य जारी गरि दुःख व्यक्त गर्नुको साथै समवेदना प्रकट गर्नुभएको हो ।
वक्तव्यमा महामन्त्री सिंहले नेपाल कम्युनिस्ट पार्टी (मसाल) कपिलवस्तु जिल्ला समितिको जुझारु सदस्य समेत रहेका का. न्यौँपानेको निधनले पार्टीमा पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको बताउनु भएको छ ।
वक्तव्यमा लेखिएको छ :
“कपिलवस्तु जिल्ला बाणगंगा–४ जितपुर निवासी कामरेड मुक्तिराम न्यौँपाने (कामरेड कृति) को २०८२ फागुन २२ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड न्यौपाने हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले प्रवासमा र देशभित्र पार्टी र पार्टीका विभिन्न जनवर्गीय मोर्चाका विभिन्न तहमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) कपिलवस्तु जिल्ला समितिको सदस्य हुनुहुन्थ्यो । का. न्यौपाने हाम्रो पार्टीको अनुशासित, कर्तव्यनिष्ठ र जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

