काठमाडौँ । प्रतिनिधिसभा सदस्यको मतदान सम्पन्न भएसँगै सम्बन्धित जिल्लामै मतगणना हुने भएको छ ।
सम्बन्धित निर्वाचन क्षेत्रको तोकिएको केन्द्र वा जिल्ला सदरमुकाममा मतपेटिका सङ्कलन भएसँगै मतगणनाको प्रक्रिया सुरु हुनेछ ।
निर्वाचन आयोगका अनुसार यतिखेर मतपेटिका सिल गरेर मतदानस्थलबाट मतगणना स्थल पुर्याउने कार्य जारी छ । मतगणना एक सय ६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ ।
मतगणना सुरु हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्थित सर्वदलीय बैठक बस्नेछ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको बताएको छ ।
प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि मात्रै समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।