मेघराज रिष्मेली, टोकियो ।
जापानको चिबा प्रान्तमा २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको मृत्यु भएको घटनामा उनकी ३२ वर्षीय जापानी प्रेमिकामाथि अदालतमा सुनुवाइ सुरु भएको छ ।
सुरुमा हत्त्याको अभियोगमा पक्राउ गरिएकी उनलाई हाल अभियोजकहरूले आत्महत्या दुरुत्साहन, चोरी र हातहतियार ओसारपसारको मुद्दामा कारबाही अघि बढाएका हुन् ।
अदालतमा बयान दिँदै उनले परिवारले विवाहका लागि असहमति जनाएको र आर्थिक अभावका कारण आफूहरूले सँगै मर्ने निर्णय गरेको दाबी गरेकी छिन् ।
उनले बादलले आफैँलाई छुरा प्रहार गरेको र आफूले भने डराएर आत्महत्या गर्न नसकेको बताएकी छिन् ।
यता, मृतकका आफन्तले भने यसलाई योजनाबद्ध हत्या भन्दै अभियुक्तलाई कडा कारबाही गर्न माग गरिरहेका छन् ।
परिवारका अनुसार घटनाको केही दिनअघि मात्र बादलले ती प्रेमिकासँग सम्बन्ध तोड्ने कुरा गरेका थिए । त्यसको केही दिनभित्रै अक्टोबर ५, २०२५ मा फुनाबासी सहरको एउटा होटलमा बादल रक्ताम्य अवस्थामा मृत फेला परेका थिए ।
चिबा जिल्ला अदालतमा जारी यो मुद्दाको फैसलाले घटनाको वास्तविक तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ ।